चेन्नइमा अब धोनीको स्थान लिने खेलाडी को ?
ऋषभ पन्त कप्तान, विकेटकिपर र फिनिसर तीनै भूमिकामा चेन्नइलाई उपयुक्त विकल्प देखिन्छन् । पन्त बाहेक धोनीको भूमिकामा सही विकल्प भारतीय र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा तत्काल देखिंदैनन् ।
१९ साउन, काठमाडौं । विश्व क्रिकेटका सर्वाधिक सफल कप्तान र विकेटकिपर महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा देखिन्छन् वा देखिंदैनन् भन्न सकिंदैन । किनभने धोनीले कुन निर्णय कति बेला लिन्छन् कसैलाई अत्तोपत्तो हुँदैन् ।
सधैं एक्कासी निर्णय लिने उनी उमेरले ४३ पुगेका छन् । यो उमेरमा मैदान उत्रिनु पक्कै सहज काम होइन । तर, फिटनेसमा सधैं ध्यान दिने उनी उमेरलाई एउटा अंक मात्रै मान्छन् । उनको जोश हेर्दा त्यति गाह्रो काम पनि होइन ।
धोनीको उत्कृष्ट फिनिसर ब्याटिङ शैली, किपिङ, कप्तानी, युवा खेलाडीलाई स्टार बनाउने कला अनि शान्त स्वभाव समर्थकलाई सदावहार हेरिरहन मन लाग्छ । जति हेर्दा पनि आँखा थाक्दैन । अनि मन आतिदैन । साँच्चिकै अद्भूत प्रेरणा भएका खेलाडी हुन् ।
आईपीएल तीन-तीन वर्षको अन्तरमा मेगा अक्सन हुन्छ । मेगा अक्सन २०२५ को नियमपछि निर्णय लिने धोनी बताउँछन् ।
‘यसका लागि धेरै समय छ । खेलाडी रिटेनसम्बन्धी उनीहरू के निर्णय गर्छन् त्यो हामी हेर्नुपर्छ । अहिले बल मेरो कोर्टमा छैन । मेगा अक्सनका नियमहरू औपचारिक रूपमा आएपछि निर्णय लिनेछु । तर, निर्णय टोलीको हितमा हुन आवश्यक छ,’ धोनीले तीन दिनअघि आईपीएल खेल्नेबारे भने ।
चेन्नइले मेगा अक्सनमा ऋतुराज गायकवाड, रवीन्द्र जडेजा र मथिसा पाथिरानालाई रिटेन गर्ने लगभग पक्का छ । डेभन कन्वे, डर्याल मिचेल र रचिन रवीन्द्रमध्ये एक खेलाडी रिटेन हुने सम्भावना रहन्छ । चारभन्दा बढी खेलाडी मेगा अक्सनमा रिटेन गर्न मिले धोनीले खेल्ने सम्भावना धेरै छ । पुरानै नियम रहे मेगा अक्सनमा चार खेलाडी (बढीमा तीन भारतीय) राख्न पाइन्छ । यो अवस्थामा धोनी खेल्ने अवस्था कम रहन्छ ।
धोनीले २०२२ मा कप्तानी रवीन्द्र जडेजालाई सुम्पिएका थिए । जडेजाको कप्तानीमा चेन्नइ ८ मध्ये ६ खेलमा पराजित भयो । कप्तानी दबाबमा खराब प्रदर्शनले आफ्नो करियर नै धरापमा पर्ने अवस्था आएपछि प्रतियोगिता बीचमै नेतृत्व छाड्दै धोनीलाई पुन सम्पिएका थिए ।
२०२३ को आईपीएल उपाधि जितेपछि धोनीले २०२४ मा ऋतुराज गायकवाडलाई नेतृत्व दिए । किनभने कप्तानी हस्तान्तरण चेन्नइलाई ठूलो चुनौती हो । युवा ओपनर गायकवाडको नेतृत्वमा चेन्नइले १४ खेलमा समान ७ मा जित र हार निकाल्दै पाँचौं स्थानमा रहेर बाहिरियो ।
आईपीएलमा आफ्नो विरासतलाई निरन्तरता दिन अब भने चेन्नइले उनको विकल्प तयार पार्नुपर्छ । पछिल्लो संस्करणमा धोनीले अन्तिम ओभरमा प्रायः ब्याटिङ गरेका थिए । २०२४ मा ११ इनिङमा ७३ बल खेल्दा १३ छक्का र १४ चौका हानेका थिए । टिम च्याम्पियन बन्न प्रमुख फिनिसर वा विकेटकिपरले दुई तीन बल मात्रै खेलेर पर्याप्त हुँदैन ।
त्यसैले अब चेन्नई बायाँ हाते विकेटकिपर ऋषभ पन्तलाई धोनीको भूमिकामा ल्याउन चाहन्छ । पन्त पनि आफ्नो गुरुको भूमिका सम्हाल्न खुसी र इच्छुक देखिन्छन् ।
पन्त २०१६ देखि नै दिल्लीबाट खेल्दै आएका छन् । २०२१, २०२२ र २०२४ को संस्करणमा दिल्लीको कप्तानी गरे । उनको कप्तानीमा दिल्ली २०२१ मा प्लेअफ र २०२२ मा पाँचौं र २०२४ मा छैटौं स्थानमा रहेर बाहिरिएको थियो । २०२३ मा कार दुर्घटनाको कारण पन्तले आईपीएल गुमाउँदा डेविड वार्नरले दिल्लीको नेतृत्व सम्हाल्लेका थिए ।
पन्त चेन्नई जाने तयारीमै छन् । दिल्लीले उनलाई कप्तानको रुपमा रेटन गर्न रुचि देखाएको छैन । दिल्लीका निर्देशक सौरभ गांगुलीलाई असहयोग गरेको आरोप पनि छ ।
उपाधिविहीन दिल्ली कप्तानी, प्रशिक्षक, खेलाडी र म्यानेजमेन्टमा ठूलो परिवर्तन गर्ने सोच बनाएको छ । मुख्य प्रशिक्षक रिकी पोन्टिङले पनि दिल्ली क्यापिटल्समा ७ वर्ष यात्रा समाप्त गरेका छन् । रिकी पोन्टिङले छाड्नुले पन्त पनि नहुने अनुमान गर्न सकिन्छ । कप्तानी नपाउँदा खेलाडीको रूपमा उनी दिल्लीमा बस्ने सम्भावना न्यून छ । त्यसैले उनी चेन्नइ गएमा खासै आश्चर्य मान्नु पर्दैन ।
फिल्डिङ मिलाउनेदेखि कप्तानी भूमिकामा ऋतुराजलाई धोनीले सहयोग गरेका छन् । धोनी नहुँदा ऋतुराजलाई कप्तानीमा कठिन पर्नसक्छ ।
त्यसले गर्दा पन्त कप्तान, विकेटकिपर र फिनिसर तीनै भूमिकामा चेन्नइलाई उपयुक्त विकल्प देखिन्छन् । पन्त बाहेक धोनीको भूमिकामा सही विकल्प भारतीय र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा तत्काल देखिंदैनन् ।
Leave a Comment