‘स्टुडेन्ट भिसा’मा विदेश जाने होड– एक वर्षमै १ लाख १२ हजार विद्यार्थीले लिए एनओसी

Spread the love

गत आर्थिक वर्ष (२०८०/०८१)मा वैदेशिक अध्ययनका लागि १ लाख १२ हजार ५९३ जनाले अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएको पाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०८० साउन १ देखि २०८१ असर ३१ सम्म कुल ६६ देशका लागि १ लाख १२ हजार ५९३ जनाले एनओसी पाएका हुन्, जसमध्ये प्रायजसो जापान, अमेरिका, यूके, कोरिया, अस्ट्रेलिया, क्यानडाका लागि अनुमति लिएकाहरू छन् ।

सबैभन्दा बढी एनओसी जापान जाने विद्यार्थीहरूका लागि दिइएको छ । जापानका लागि ३४ हजार ७३१, क्यानडाका लागि १५ हजार ९८२, अस्ट्रेलियाका लागि १४ हजार ३७२, युनाइटेड किङ्डम (यूके)का लागि १३ हजार ३३९, युनाइटेड स्टेट्स अफ अमेरिका (यूएसए) का लागि ११ हजार २६१ जनाले अध्ययन अनुमतिपत्र पाएका छन् ।

त्यसैगरी, रिपब्लिक अफ कोरियाका लागि ६ हजार ८८९, डेनमार्कका लागि १ हजार ७५४, फिनल्यान्डका लागि १ हजार ५३५, फ्रान्सका लागि १ हजार ४८९, इन्डियाका लागि २ हजार ३८९, न्युजिल्यान्डका लागि १ हजार ४४६, यूएईका लागि २ हजार १४७ जनाले वैदेशिक अध्ययन अनुमति पत्र पाएका थिए ।

त्यसैगरी, बंगलादेशका लागि ४४८, चीनका लागि ४६९, बहराइनका लागि १४२, जर्मनीका लागि ७१५, आयरल्यान्डका लागि ३६१, ग्रीसका लागि १०१, हंगेरीका लागि १३२, मलेसियाका लागि १७३, माल्टाका लागि ४९१, फिलिपिन्सका लागि १३८, पोल्यान्डका लागि ११९, कतारका लागि १६५, स्पेनका लागि १५५, स्वीडेनका लागि २०० र थाइल्यान्डका लागि ५८१ जनाले अनुमति लिएका छन् ।

विषयगतरूपमा भने भाषा अध्ययनका लागि जापान जान भनेर ३३ हजार ६९७ जनाले अनुमति पाएका छन् । जापान जाने विद्यार्थीहरूले त्यहाँ गएर शुरूमा जाप्निज भाषा पढ्नुपर्छ ।

त्यसपछि व्यवस्थापन विषय अध्ययनका लागि २८ हजार ८९१ जना र व्यवसायसम्बन्धी अध्ययनका लागि १० हजार २९ जनाले अनुमति पाएका छन् ।

कम्प्युटर साइन्स विषयका लागि ४ हजार ९९२ जना, हस्पिटालिटी विषयका लागि २ हजार ५४३ जना, सूचना प्रविधि विषयका लागि ५ हजार ९११ जना, स्वास्थ्य विषयका लागि ४ हजार १५९ जना, विज्ञान तथा प्रविधि विषयका लागि ४ हजार १०२ जनाले अनुमति पाएका छन् ।

इन्जिनियरिङ विषय अध्ययनका लागि ४ हजार ४२६ जना, आर्ट्स विषय अध्ययनका लागि १ हजार ८१३ जना, विज्ञान विषय अध्ययनका लागि ५ हजार ३८४ जनाले अनुमति पाएका छन् ।

यसका अलावा मेडिसिनसम्बन्धी अध्ययनका लागि ५ सय ९९ जना, एमडी/एमएस अध्ययनका लागि ७ सय ३३ जना, अन्य विभिन्न भाषा अध्ययन गर्न ३९० जना, वातावरण विज्ञान विषयमा अध्ययन गर्न २ सय २६ जना, सामाजिक विज्ञान अध्ययन गर्न ३ सय ५७ जना, शिक्षा विषय अध्ययन गर्न ४ सय ३६ जना, कोरियन भाषा अध्ययन गर्न ३ सय ७० जनाले अनुमति पाएका छन् ।

त्यसैगरी, कृषि विज्ञान अध्ययन गर्न ३ सय ९२ जना, अंग्रेजी विषय अध्ययन गर्न १ सय २७ जना, कम्युनिटी सर्भिसेज अध्ययन गर्न ५ सय ९२ जना, कम्प्युटिङ विषय अध्ययन गर्न १ सय ९३ जनाले अनुमति पाएका छन् ।

Source: Lokanttar News

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *